काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार उनलाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।

जबरालाई पक्राउ गर्नुको कारण र उनीमाथि लगाइएको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप जानकारी दिने तयारी गरेको जनाइएको छ।

जबराले १७ पुस २०७५ मा नेपालको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध १ फागुन २०७८ मा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

महाअभियोग प्रस्ताव लामो समयसम्म संसद्मा विचाराधीन रह्यो। संसद्को अधिवेशन समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको व्यहोरासहितको पत्र जारी गरेका थिए। उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो।

यससम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ भदौमा फैसला सुनाउँदै जबराविरुद्ध दर्ता भएको महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको थियो। प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासले यससम्बन्धी चारवटा रिट खारेज गर्ने फैसला गरेको थियो।