इटहरी । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका पसलमा बजार अनुगमन गरेको छ  ।


खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको तथा म्याद नाघेका सामग्री बिक्री हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडबाडलक्षित अनुगमन गरेको हो । 


नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीका अनुसार बजारबाट उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यमा एकरूपता, कानुनी प्रमाणपत्र, ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला लगायतका विषयलाई केन्द्रित गरी बराहक्षेत्र नगरपालिका–९ राजावास बजार र वडा नम्बर ११ को मधुवन क्षेत्रमा रहेका पसलमा अनुगमन गरिएको हो ।


अनुगमन टोलीले बजारमा रहेका किराना पसल, होटल, हार्डवेयर पसल, फेन्सी स्टोरलगायतका पसलमा अनुगमन गरेको थियो । 


अनुगमनका क्रममा म्याद नाघेका सामग्री नष्ट गर्नुका साथै त्यस्ता सामग्री बिक्रीका लागि राख्ने पसललाई सचेत गराइएको थियो । केही व्यवसायीलाई जरिवाना पनि तिराइएको तथा कानुनी प्रक्रिया र दर्ता प्रक्रियाका विषयमा समेत जानकारी गराइएको नगरपालिकाले जनाएको छ ।


उपभोक्ताको हितविपरीत सञ्चालन भएका पसललाई नियम पालना गर्न सचेत गराइएको र म्याद नाघेका सामग्री राख्ने व्यापारीलाई सचेतना दिई जरिवाना तिराइएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताउनुभयो । 


अनुगमनका क्रममा ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला नियन्त्रणमा लिइएको थियो । नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा गरिएको अनुगमन टोलीमा प्रशासन शाखाका प्रमुख मातृका तिवारी, राजस्व शाखा प्रमुख संगिता चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा, सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइराला, उद्योग वाणिज्य संघ वराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारलगायत सहभागी थिए ।