इनरुवा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ मा सम्पन्न निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन।
बिहानदेखि सर्वपक्षीय सहमति जुटाउने प्रयासस्वरूप बसेको बैठक निष्कर्षविहीन बनेपछि मतगणना प्रक्रिया अन्योलमा परेको हो। विवाद समाधान गरी मतगणना सुरु गर्ने उद्देश्यले दुवै पक्षबीच अहिले पनि छलफल जारी रहेको बताइएको छ।
क्षेत्रीय सभापतिका उम्मेदवार मनोज साह र गफार अन्सारी पक्षबीच पदीय बाँडफाँड तथा मतगणना प्रक्रियाका विषयमा विवाद देखिएको छ। साह पक्षले क्षेत्रीय सचिवसहित सातदेखि आठ जना क्षेत्रीय सदस्य र सातदेखि आठ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि आफ्नो पक्षलाई दिनुपर्ने माग राखेको बताइएको छ।
अन्सारी पक्षले भने उक्त माग स्वीकार गर्न नसकिने जनाएको छ। क्षेत्रीय सभापति र सचिव पद छाड्न नसकिने अडान राख्दै अन्सारी पक्षले निर्वाचन सम्पन्न भइसकेकाले तत्काल मतगणना सुरु गर्नुपर्ने बताएको छ।


















