इटहरी । लगातार तीन दिन घटेको सेयरबजारमा बिहीबार सामान्य सुधार आएको छ । आज नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३५३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १३९ कम्पनीको सेयरमूल्य बढेका छन् भने १२८ कम्पनीको सेयरमूल्य घटेका छन् । 

बाह्र कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ५१ हजार ७४५ कारोबारबाट ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा तीन प्रतिशतले बढी हो । 

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त तथा जलविद्युत समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसुचकमा गिरावट आएको छ । 

लगानी समूहको परिसूचक भने स्थिर रहेको छ। सिन्धु विकास बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक, इमर्जिङ नेपाल लिमिटेड, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड तथा हाथवे इन्भेष्मेन्ट नेपालका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । 

सबैभन्दा बढी गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेड, स्वभिमान लघुवित्त वित्तीय संस्था, सोपान फर्मास्युटिकल्स्, स्नो रिभर्स लिमिटेड तथा माछापुच्छ्रे डिवेञ्चरमा लगानीकर्ता रहेका छन् । सेयर कारोबार रकमको आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यो कम्पनीको ३० करोड ५३ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।