काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् ।


राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ ।


नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 


अहिले पनि देशमा समस्याहरू यथावत रहेको उनले बताए । ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ । अहिले पनि देश ठीक ठाउँमा आएको छैन । लिक भन्दा बाहिर गएको छ ।’


विगतमा कसैले विरोध गरे गोली प्रहार हुने र अहिले कसैको विरोधमा सामाजिक सञ्जालबाट प्रहार हुने गरेको बताए । समस्या व्यवहार र व्यवस्थामा पनि रहेको बताए ।


विगतमा राम्रो सोचेर संविधान बनाएको भए पनि अभ्यासका क्रममा सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।