इटहरीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष राजीव ढुंगानाले पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । 


ढुंगाना स्कुले जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०४३ सालमा पार्टीले पञ्चायतको स्थानीय निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेपछि पार्टीका उम्मेद्वारको पक्षमा उहाँ सक्रिय रूपमा खटिनुभएको थियो ।


२०४६ सालको जनआन्दोलनदेखि २०६२\०६३ को दोस्रो जनआन्दोलनसम्म पार्टीले सञ्चालन गरेका विभिन्न आन्दोलन र संघर्षमा ढुंगाना अग्रपंक्तिमा सक्रिय रहनुभएको थियो । 


२०४६ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्यबाट राजनीतिक जिम्मेवारी शुरु गरेका ढुंगाना २०५० सालमा नेविसंघको जिल्ला सचिव बन्नुभएको थियो । 


२०५७ सालमा विश्वप्रकाश शर्मा अध्यक्ष रहेका बेला नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका ढुंगाना त्यसपछि केन्द्रीय कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै २०७६ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । 


ढुंगानाले २०७६ माघ १६ देखि २०७८ फागुन ५ गतेसम्म नेविसंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । 


नेपाली कांग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका ढुंगाना १२ औँ, १३ औँ र १४ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुुनुभएको थियो । 


१४ औँ महाधिवेशनमा खुलातर्फबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका ढुंगाना विद्यार्थी विभाग प्रमुखको जिम्मेवारीमा समेत रहनुभएको थियो । 


हाल कांग्रेसको कार्यसम्पादन समिति सदस्य रहेका ढुंगाना सादगीपूर्ण जीवन, इमानदारीपूर्ण राजनीति र स्पष्ट राजनीतिक अडान राख्ने प्रखर वक्ताका रूपमा चिनिनुहुन्छ ।