इटहरी । आज पनि पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसुनी प्रणालीका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढेको छ । 


हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र मात्रा धेरै हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहानपख वर्षा रोकिए पनि दिउँसोदेखि वर्षाको गतिविधि बढ्ने महाशाखाले जनाएको छ ।


आज हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज नै पश्चिमी भूभागमा एक÷दुई स्थानमा खण्डित रुपमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी तीन दिनसम्मै वर्षा जारी रहने सम्भावना छ । 


सुदूरपश्चिम, कर्णाली तथा मधेस र कोशी प्रदेशका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । केही स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।


गत १२ घण्टाको अवधिमा कैलाली, बर्दिया र दाङमा भारी वर्षा भएको छ ।


सबैभन्दा धेरै वर्षा कैलालीको बलियामा १००.४ मिलिमिटर मापन भएको छ । यसैगरी बर्दियाको दौलतपुरमा ६८.२ र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा मापन भएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।