दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ।

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।

यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरेर शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलाएको हो।

लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ।

यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

हाल १५ स्थानमा यस्ता कक्ष सञ्चालनमा छन्।

बसपार्क, कोटेश्वर र बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभाग, व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ।

तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य समस्या भए सहायता कक्ष तथा १०० नम्बरमा ट्राफिक प्रहरीलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।