दमक । विदेशमा आर्जन गरेको व्यावसायिक अनुभवलाई स्वदेशमै लगानीमा रूपान्तरण गर्दै एभरेष्ट हाइपरमार्केट प्रालिले झापाको दमकमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
दमक नगरपालिका–६ स्थित थाना रोडमा करिब १० करोड रुपैयाँको लगानीमा खुलेको नयाँ शाखाले स्थानीय बजारमा किनमेलको सुविधा विस्तार गर्नुका साथै रोजगारीका अवसरसमेत सिर्जना गरेको छ । विजयादशमीको अवसर पारेर घटस्थापनाका दिन सञ्चालनमा आएको शाखाको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम थापाले गर्नुभयो ।
नयाँ ‘आउटलेट’मा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, सागसब्जी, लत्ताकपडा, जुत्ताचप्पल तथा घरायसी आवश्यकताका वस्तु एउटै छानामुनि उपलब्ध हुनेछन् । बाह्रदशी गाउँपालिका–२, जनता निवासी युवा व्यवसायी चान मोहम्मदले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा दमकमा नयाँ शाखा सञ्चालनमा ल्याउनुभएको हो ।
कम्पनीले उपभोक्तालाई गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने र किनमेललाई सहज बनाउने लक्ष्य लिएको छ । हाइपरमार्केट बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख राम थापा, वडाध्यक्ष टेकबहादुर थापा, उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।


















