विराटनगरः अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी हुन विराटनगर आएका छ प्रदेशका मुख्यमन्त्रीसँग यहाँका उद्योगी व्यवसायीले भेटघाट गरी औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् ।

मंगलबार साँझ भएको भेटघाटमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्थाका पदाधिकारी तथा उद्योगी व्यवसायीले उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र प्रदेशहरूबीच आर्थिक सहकार्य विस्तार गर्नुपर्ने विषय उठाएका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार प्रदेशको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनमा जोड दिन आवश्यक छ । त्यसका लागि निजी क्षेत्र र सरकारबीच प्रभावकारी साझेदारी हुनुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका थिए ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्योगी व्यवसायीका समस्या समाधान गर्ने तथा सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउने विषयमा मुख्यमन्त्रीहरूलाई सुझाव दिइएको राठीले बताए । निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत पहलसँगै परिणाममुखी काम गर्नुपर्ने उनीहरूको माग थियो ।

भेटघाटका क्रममा प्रदेशहरूबीच हवाई सम्पर्क विस्तार गर्नुपर्ने विषयसमेत उठाइएको थियो । विराटनगरबाट पोखरा तथा लुम्बिनीजस्ता प्रमुख शहरमा सिधा आन्तरिक उडान नहुँदा यात्रुले अर्को गन्तव्य हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उद्योगी व्यवसायीले बताएका थिए ।

प्रदेशहरूबीच सिधा हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरिएको राठीले जानकारी दिए । सिधा हवाई सम्पर्कले उद्योग, व्यापार, पर्यटन तथा व्यावसायिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।