सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटासुमो आइतबार बिहान साढे २ बजे सडकबाट करिब दुई सय मिटर तल सुनकोसी नदीमा खसेको हो ।
घटनास्थलमा तीन महिलाको शव फेला परेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
घाइते हुनेहरूमा चालक ओखलढुङ्गाका आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकको भनाइअनुसार थप तीन जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा पठाइएको छ ।

















