इटहरीः धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको सन्देश प्रवाह गर्दै इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राम टोल विकास संस्थाले दुर्गा पूजा तथा फूलपाती बढाइँ कार्यक्रम आयोजना गरेको छ ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिका समुदायलाई एकै ठाउँमा जोड्दै आपसी सद्भाव, प्रेम, भाइचारा र मेलमिलाप कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले धार्मिक तथा सांस्कृतिक पर्वले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले धार्मिक आस्था, विश्वास र परम्पराको संरक्षणमा यस्ता कार्यक्रमको महत्त्व रहेको उल्लेख गर्दै दुर्गा पूजाले सत्यको विजय र असत्यमाथि सत्यको जीतको सन्देश दिने बताउनुभयो ।

देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक प्रसङ्गले अन्याय र असत्यमाथि सत्यको विजय हुने सन्देश दिने उल्लेख गर्दै सांसद चौधरीले यस्ता पर्वले समाजमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक परिवर्तनको भावना जगाउने धारणा व्यक्त गर्नुभयो ।

बालग्राम टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर विष्टका अनुसार चाडपर्व रमाइलो र उत्सव मनाउने अवसर मात्र नभई आपसी प्रेम, सद्भाव, भाइचारा, सामाजिक एकता र सांस्कृतिक पहिचानका अमूल्य धरोहर भएको बताउनुभयो ।

विविध संस्कृति र मौलिक परम्पराको प्रदर्शन
फूलपाती बढाइँ कार्यक्रममा मौलिक पञ्चेबाजा, नौमती बाजा, विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत भेषभूषासहित टोल परिक्रमा गरिएको थियो । कार्यक्रममा राई समुदायको साकेला नाच तथा थारू समुदायको सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो ।

विभिन्न समुदायका मौलिक कला, संस्कृति र परम्परालाई एउटै उत्सवमा समेटेर सामाजिक एकताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको अध्यक्ष विष्टले बताउनुभयो ।

विभिन्न धार्मिक स्थलको परिक्रमा
फूलपाती बढाइँका क्रममा बालग्राम टोल विकास संस्थाको भवनस्थित पूजा मण्डपबाट शुरु भएको यात्रा रामजानकी मन्दिर, शक्तिपीठ, माता सरस्वती तथा जब्दी माताको स्थल हुँदै लबीपुर र मङ्गलबारे हाट क्षेत्र पुगेको थियो । त्यसपछि पाथीभरा माताको शक्तिपीठमा दर्शन तथा परिक्रमा गर्दै हनुमान मन्दिरको परिक्रमा गरिएको थियो ।

विभिन्न धार्मिक स्थलको परिक्रमा सम्पन्न गरी सहभागीहरू पुनः बालग्राम टोल विकास संस्थाको भवनमा फर्किएपछि कार्यक्रम समापन गरिएको थियो ।

सलामी दिने परम्परा
कार्यक्रमको समापनअघि नेपाल प्रहरीको टोलीले दुर्गा मातालाई सलामी अर्पण गरेको थियो । अध्यक्ष विष्टका अनुसार बालग्राम टोलमा विगत चार वर्षदेखि फूलपाती बढाइँ कार्यक्रमका अवसरमा प्रहरीको टोलीले दुर्गा मातालाई सलामी अर्पण गर्दै आएको छ । यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिइएको हो ।

धार्मिक आस्था र परम्परालाई सम्मान गर्दै प्रहरीको सहभागितामा सलामी अर्पण गर्ने कार्यक्रमले उत्सवको गरिमा थप बढाएको आयोजकको भनाइ छ ।

दुर्गा मातालाई सलामी दिएपछि बालग्राम टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर बिष्ट र इटहरी १६ की वडा महिला सदस्य खिना खतिवडाले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

दुर्गा माता फुलपाती बढाइँ कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद बन्जराले गर्नुभएको थियो । सचिव तारा दुलाल लुइँटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम समापनपछि आयोजकले सालको पातको बोहोतामा हलुवा र मोही प्रसादस्वरुप वितरण गरेको थियो ।

विभिन्न समुदायको सहभागिता, मौलिक बाजागाजा, सांस्कृतिक नाच, धार्मिक परम्परा र प्रहरीको सलामीसहित सम्पन्न फूलपाती बढाइँ कार्यक्रमले बालग्राम टोलको धार्मिक तथा सांस्कृतिक पहिचान उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ ।

२१० घरधुरी रहेको सो टोल विकास संस्थामा यसअघि २१७ घरधुरी थिए ।