मोरङ :  मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलस्थित हुलाकी सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

निबार राति करिब ८ः४५ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक सुनवर्षी–९ डाइनियाका ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउको र दुवै खुट्टामा चोट लागेका उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति १०ः५० बजे उनको मृत्यु भएको हो।

सोही मोटरसाइकलमा पछाडि सवार ६० वर्षीय रामविलास मण्डल घाइते भएका छन्। उनको निधार र दाहिने खुट्टामा चोट लागेको छ।