विराटचोकः मोरङको सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहीबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा समूहका अध्यक्ष सीताराम पाण्डेको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

२०६० सालमा स्थापना भएको समूहले १५०.५५ क्षेत्रफलमा फैलिएको वनबाट सुन्दरहरैँचा–९ र ११ का करिब एक हजार घरधुरीलाई काठ तथा दाउरा उपलब्ध गराउँदै आएको जनाएको छ ।

सो साधारणसभामा अध्यक्ष पाण्डेले आर्थिक वर्ष २०८२\०८३ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३\०८४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार यस वर्ष १ हजार ७९८.४८ क्युफिट काठ कटान तथा बिक्री आदेश लिई ३ हजार ५८७.०१ क्युफिट काठ र ८ चट्टा दाउरा उपभोक्तालाई बिक्री गरिएको छ ।

समूहले विभिन्न संघसंस्था, गरिब तथा विपन्न उपभोक्ता र पीडित व्यक्तिलाई निःशुल्क काठ, दाउरा तथा नगद सहयोगसमेत गरेको जनाएको छ । वन संरक्षणका लागि विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षरोपणसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन सोमराज गुरागाईंले प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने उपभोक्ताका सन्तानहरू रेशिका खनाल र शारदादेवी तिम्सिनालाई सम्मान गरिएको थियो ।

उत्कृष्ट टोल प्रमुखहरू कल्पना न्यौपाने, छविलाल घिमिरे र देवीबहादुर बुढाथोकीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख मोहन अर्याल, सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य रुजा घिमिरे, प्रदेश वन महासंघका सदस्य अग्नि पौडेल, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो ।