इटहरी ।  नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छिन् ।

दसैँमा नुवाकोटको एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान किनेकी तामाङको कुपन नम्बर गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको थियो ।


विभागले असोज १६ देखि ३१ गतेसम्मका दैनिक विजेतासमेत छनोट गरेको छ । उनीहरूले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित कर्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने जनाइएको छ । उनीहरुले कर कट्टी गरेर १ लाख रुपैयाँ पाउनेछन् ।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ कारोबार बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए । क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए ।