काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको छन् ।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि ल्याएको छ ।