चतराः सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोलका ५० वर्षीय मंगल सिंह राईको घरमा हातहतियार लुकाइछिपाई राखिएको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कात्तिक ९ गते साँझ करिब सवा ६ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको संयुक्त प्रहरी टोलीले राईको घरकोठा रीतपूर्वक खानतलासी गर्दा भान्सा कोठाको सिलिङमा लुकाइछिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त बन्दुक बरामद गर्नुका साथै राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको प्रहरीले जनाएको छ ।

















