इटहरी । आज रातिदेखि नै देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्यमा अवरोध हुनसक्छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

एकाएक चिसो बढ्न सक्ने देखिएको छ भने जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।

यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको तराई भू(भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना छ ।