सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ ।

पहिरोले नदी थुनिएपछि अस्थायी बाँध बनेको र त्यसबाट पानीको बहाव बढ्न सक्ने भन्दै कोशी प्रदेश सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले दिएको जानकारीअनुसार चेरेम गाउँमुनि निरन्तर पहिरो खसिरहेको छ ।

पहिरोले इङ्खु नदीको बहाव रोकेपछि नदीमा अस्थायी बाँध बनेको छ । सो अस्थायी बाँध फुटेमा एकैपटक पानीको बहाव र परिमाण बढ्न सक्ने जोखिम रहेको बताइएको हो ।

इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन मन्त्री शेर्पाले आग्रह गर्नुभएको छ । हालको अवस्था हेर्दा ठूलो जोखिम नदेखिए पनि सो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने र अस्थायी बाँध भत्किएमा नदीमा पानीको सतह अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभएको छ ।