काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन् ।
पोखरा पहिलो जीतको खोजीमा हुँदा जनकपुर दोस्रो जीतको खोजीमा छ ।
एनपीएलको यो संस्करणमा पोखराले आज दोस्रो खेल खेल्दैछ । जनकपुरको भने आजको खेल तेस्रो खेल हो ।
पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । एक खेलमा जीत र एक खेलमा हार बेहोरेको जनकपुर आज जीत दोब्बर बनाउने लक्ष्यमा छ ।
जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौलाई ८ विकेटले पराजित गरेको थियो ।


















