काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले दोस्रो जीत निकालेको छ । जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराउँदै जारी संस्करणमा दोस्रो जीत निकालेको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रनमात्रै बनाउन सक्यो ।
कप्तान कुशल भुर्तेलले ३५ रन बनाउँदा विपिन आचार्यले २० तथा विपिन खत्रीले १७ रन बनाए । यस्तै किरण ठगुन्नाले १५ रन जोडे ।
बलिङतर्फ जनकपुरका मोइन अलीले तीन तथा सैफ हसन र हरमीत सिंहले दुई–दुई विकेट लिँदा ललित राजवंशीले र जिमी निशमले एक–एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोडेको थियो । तृतराज दासले अर्धशतकीय इनिङ्स खेले । उनले ६१ रनको योगदान दिए ।
यस्तै, अभिषेक तिवारीले अविजित २४ मोइन अलीले २१ रन, जिमी निशमले ११ जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ पोखराका शकिब अल हसनले तीन तथा चमिका करुणारत्नेले दुई विकेट लिँदा मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक एक विकेट जोडेका थिए ।
यसअघिको खेलमा पोखरा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित हुँदा दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराउन सफल भएको थियो ।


















