खाँदबारीः सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–१ घर भएका कैदीबन्दीको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आज बिहान ३ मृत्यु भएको हो । राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि हिजो बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको थियो ।
राईलाई श्रीमती र कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राई सहितको प्रहरी टोलीले थप उपचारका लागि शुरुमा विराटनगरस्थित कोशी अस्पताल लगेको थियो । कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।
राईलाई जिल्ला अदालत चैनपुरले २०८३ वैशाख ४ गते कारागार चलान गर्ने आदेश दिएको थियो ।

















