विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ मा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा एकै परिवारका दुई जना घाइते भएका छन् ।


आज बिहान करिब साढे ११ बजे जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको थियो । विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् ।


प्रहरीका अनुसार खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ । अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ ।


उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।