इटहरी । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज (आइतबार) भारतको राजधानी नयाँदिल्ली जानुहुने भएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो राजकीय विदेश भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत् नयाँदिल्ली जानुहुनेछ ।

सो भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्नेछन् ।

विमानस्थलबाट शाह सिधै होटल ताजमहल गएर सोही होटलमा साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भोलि बिहान १० बजे प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यतालिका छ ।

शाह र मोदीबीच करिब आधा घण्टा भेटवार्ता गर्ने तयारीसमेत रहेको बताइएको छ ।

भोलि दिउँसो साढे १२ बजे दुई देशबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तारबारे छलफल हुने भएको छ । ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी गरिएको छ ।

भोलि अपराह्न सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग प्रधानमन्त्री शाहले भेटवार्ता गर्नेछन् । त्यसपछि अपराह्न ४ः५० बजे शाह स्वदेश फर्किने तालिका छ ।