काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दा उनी सवार विमान अन्तर्राष्ट्रिय उडान ट्र्याकिङ प्लेटफर्म ‘फ्लाइट राडार २४’ मा विश्वभर सबैभन्दा बढी हेरिएको उडान बनेको छ।
आइतबार दिउँसो प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्दा उनको विमानको अवस्थिति र उडान मार्ग हेर्नेहरूको चासो उल्लेख्य रूपमा बढेको हो।
फ्लाइट राडार २४ को तत्कालीन विवरणमा प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको एयरबस ए–३२० विमान विश्वमै सबैभन्दा बढी ट्र्याक भइरहेको उडानका रूपमा देखिएको छ।
प्रधानमन्त्री सवार विमानको उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७ रहेको थियो।
उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ४५ मिनेटमा उड्ने तालिका थियो। तर निर्धारित समयभन्दा २३ मिनेट ढिलो अर्थात् दिउँसो २ बजेर ८ मिनेटमा नयाँ दिल्लीका लागि उडेको थियो।
फ्लाइट राडार २४ विमानहरूको वास्तविक समयको अवस्थिति, गति, उचाइ तथा उडान मार्गलगायतका विवरण हेर्न सकिने अन्तर्राष्ट्रिय प्लेटफर्म हो। यसले विश्वभरका उडानसम्बन्धी जानकारी विभिन्न स्रोतबाट सङ्कलन गरी डिजिटल नक्सामा देखाउँछ।


















