काठमाडौं । साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो ।

रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका तीन जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ ।

दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानका अनुसार कम्पनीको उजुरीको आधारमा पक्राउ परेका उनीहरु विगत ३ महिनादेखि जेल जीवन बिताइरहेका थिए । साउदी सरकारसँगको समन्वयमा एकै पटक यति ठुलो संख्याका नेपालीलाई जेल मुक्त गरी स्वदेश फर्काउन सफल भएको उनले बताए ।

यसरी स्वदेश फर्किनेहरू सबैलाई साउदी सरकारले हवाई टिकट उपलब्ध गराएको हो । स्वदेश फर्किनेहरूमा कुशल नोनिया, प्रकाश सहनी, सीतल प्रसाद मुखिया, राम सेवक मुखिया, जौतिक माली ,सुरेश महतो, दुर्गा बहादुर बिके, राम उमेश शाह, मुकेश शाह, वसन्त सुनार र राम नाथ प्यासी रहेका छन् ।

यसै गरी, आशाराम मुखिया, रामकुमार यादव, ललन राय अमट, अमिर धिमाल, बिक्रम सुनार, सुदन दराई, राजेन्द्र भण्डारी, राम पुकार मुखिया, डम्बर यादव, मनोज कुमार दास, गर्भु ठाकुर, निरन खत्बे, मजिबुल नदाफ, विजय नेपाली, हरिजन कौलेश्वर, राज किशोर पासवान, सुरेश यादव, बिरवल दाहाल र पोम बहादुर सारु मगर रहेको उनले बताए ।