इटहरी । तीजको दिन हिजो साताको पहिलो कारोबार दिन शेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २५.५५ अंकले बढेर २ हजार ५८५.०४ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३३६ वटा स्टकको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४९ हजार ७४ पटक किनबेच हुँदा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटामध्ये सामुहिक लगानी कोषबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सर्वाधिक अर्थात् १.६७ प्रतिशतले बढेको छ ।

एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक २४ करोड ९० लाख ७४ हजार १८७ रुपैयाँको शेयर किनबेच भएको छ । लिबर्टी इनर्जीको २३ करोड ८४ लाख, सानिमा मिडिल तमोरको २० करोड ३८ लाख, रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७९ लाख र अपि पावरको १७ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ६.४३ प्रतिशतले बढ्दा त्रिशुली जलविद्युतको मूल्य ६.३८, श्रीजनशील लघुवित्तको ५.९३ र सर्वोत्तम पेन्ट्सको मूल्य ५.४० प्रतिशतले बढेको छ ।

उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ८.२३ प्रतिशतले घट्दा अभियान लघुवित्तको शेयरमूल्य ५.२२ र इमर्जिङ नेपालको शेयरमूल्य ३.८६ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ४६ अर्ब ६२ करोड ३७ लाख १२ हजार ८०६ रुपैयाँ कायम भएको छ ।