इटहरी ।  शेयर लगानीकर्ताका लागि खुशीको खबर आउँदैछ । अब शेयर लगानीकर्ताहरूले नोक्सानमा शेयर बेच्दा समायोजन गर्न पाउने भएकाले घाटामा बिक्री हुँदा पनि लाभकर तिर्नुपर्ने व्यवस्था अन्त्य हुने भएको छ ।

अर्थ मन्त्रालयले सोमबार जारी गरेको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ अनुसार यस्तो व्यवस्था गर्न लागेको हो ।

यस्तो समायोजनका लागि अर्थ मन्त्रालयले अध्ययनसहित लाभकर गणना विधिमा सुधार गर्ने र घाटा भएको अवस्थामा समायोजन गर्न पाउने व्यवस्था भएको छ । यस्तोमा खुद लाभ भएको अवस्थामा मात्रै कर लाग्ने र यो कर अन्तिम हुने समेत बताइएको छ ।

अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई पनि संशोधन गरेको छ । व्यक्तिगत लगानीकर्ताका लागि एक वर्षभन्दा बढी अवधिपछि शेयर बिक्री गर्दा हुने लाभमा ३.७५ प्रतिशत पूँजीगत लाभकर र एक वर्षभन्दा कम अवधिकोमा पाँच प्रतिशत पूँजीगत लाभकर तोक्ने भएको छ ।

हाल यस्तो लाभकर क्रमशः ७ प्रतिशत र १० प्रतिशत छ ।