हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लाभर डेङ्गुका बिरामी बढेका छन् । लामखुट्टेको टोकाइमा हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।

डेङ्गुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पताल तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेका छ । डेङ्गुको बिरामी बढेसँगै हेटौंडा उपमहानगरपालिकाले प्रभावित वडाहरुमा लामखुट्टे मार्ने स्प्रेसमेत नियमित गरिरहेको छ ।

डेङ्गुसँगै मकवानपुरमा पछिल्लो दुई सातामा १५ जनामा स्क्रबटाइफस र एक जनामा कालाजार संक्रमण देखिएको छ ।

मकवानपुरमा गत आर्थिक वर्ष २०७८/८९ मा १९५ जनामा डेङ्गु संक्रमण देखिएको थियो । तर, यो पटक आक्रामक रुपले संक्रमण बढेको कारण बिरामीको संख्या दोब्बरले बढ्ने सम्भावना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।