झापा। झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ। 

बुधबार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो।
 
यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ। 
 
त्यसैगरि बुधबार राति ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टा स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाईकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भिम बहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो। 

यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।