काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ७ गतेबाट आइपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीयलाई ६ लाख २० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई निष्कासन गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद भदौ २१ गते रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गर्ने छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।