इटहरी । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र लागुऔषध ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित एक जनालाई पक्राउ गरेको छ । मे १ ह २९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भई हाल सोही स्थान बस्दै आएका ४० वर्षीय उमेश चौधरीको साथबाट ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो ।
पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका–५ सिराहा घर भई हाल बिर्तामोड–३ बिर्ता बजारमा डेरा गरी बस्ने २७ वर्षीय प्रतीक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतीक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो ।
यसैगरी शनिबार दिउँसो विराटनगर महानगरपालिका–१६, हुलास चौकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका–११ बस्ने ४५ वर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले शङ्का लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल, फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















