काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो।

आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन्।
 
आयोजना प्रभावित स्थानीयहरूले आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ४ गतेसम्म बिक्री खुला हुनेछ। 

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।
  
कम्पनीमा जारी पुँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र १ दशमलव २८ प्रतिशत सेयर रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको सेयर स्वामित्व रहेको छ।

स्थानीयमा सेयर बिक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी ३ अर्ब ६५ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीको अधिकृत पुँजी ३ अर्ब ७५ करोड र जारी पुँजी ३ अर्ब ६५ करोड रहेको छ।

कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।