विराटनगर । वडाध्यक्षले चलाएको कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार साँझ वडाध्यक्षले चलाएको कारको ठक्कर दिँदा अन्दाजी ४० वर्षका एक पुरुष व्यक्ति घाइते भएका थिए । उनको उपचारका क्रममा आइतवार दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको दमकका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।
पैदल हिँडिरहेका उनलाई शनिबार बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकलाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


















