काठमाडौं । विगत १७ दिनदेखि आमरण अनसन गरिरहेकी निहारिका राजपुतले आइतबार अनसन तोडेकी छन् । काठमाडौँ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी र राजपुतबीच तीन बुँदे सहमति भएसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा उनले अनसन तोडेकी हुन् ।
सहमतिअनुसार राजपुतले माग र अनुरोध गरे बमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गरिने भएको छ । त्यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने पनि सहमति भएको छ । यस प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।


















