काठमाडौं । बीमा रकम असुल्ने लोभमा दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् । आफैँले आगजनी गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई पक्राउ गरेको छ ।
गाडीमा आगजनी गर्ने चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजनी गरेको पुष्टि भएको उनले बताए ।
घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाइएको प्रहरीले जनाएको छ । आगजनी गर्न अह्राउने गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बीमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।


















