काठमाडौं । काभ्रे जिल्लाको बनेपा नगरपालिका ६ अठ्ठाईस किलोबाट नौ किलो अवैद्य सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेका अनुसार बनेपा–६ अठ्ठाईसकिलो स्थित स्वागत क्याफेभित्र संरक्षित वन्यजन्तु आखेटोपहार (सालकको खपडा) अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंज काठमाडौं र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले खपडा बरामद गरी संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका वडा नं.७ का ४९ वर्षीय गोबिन्द सिन्चुरी, काभ्रे जिल्ला महाभारत गाँउपालिका ७ का २५ वर्षीय विमान स्याङ्तान र काभ्रे जिल्ला रोशी गाँउपालिका ४ का २६ वर्षीय सुरज झेडीमगर रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















