इटहरी । इटहरीबाट गाइघाट जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

आज (शनिबार) उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

इटहरीबाट गाइघाटतर्फ जाँदै गरेको प्र–१–०५–००१ प ७४८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक उदयपुरको कटारी नगरपालिका ४ कान्छी बजार बस्ने अन्दाजी २४ वर्षीय अभिषेक खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकल पछाडि सवार उनकै श्रीमती अन्दाजी २० वर्षीया सञ्जिता बस्नेतको भने दुवै खुट्टा तथा हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।