इटहरी । ४ दिन कारोबार हुँदा गत साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ । अघिल्लो साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से गत साता ०.६६ प्रतिशत अर्थात् १६.७२ अंक बढेर २५५९.४९ विन्दुमा अडिएको हो ।
२ दिन घटेको बजार २ दिन बढेको थियो । बढेको बजारमा लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् २०.१० प्रतिशत बढेको छ । अघिल्लो साता २१० रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर गत साता २५२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
पियोर इनर्जीको शेयरमूल्य करिब साढे १५ प्रतिशत बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ ।
सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ३२.७१ प्रतिशत घटेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य २७ प्रतिशत घटेको छ भने जानकी फाइनान्सको शेयरमूल्य २४ प्रतिशत घटेको छ ।
नेप्सेसँगै गत साता कारोबार रकम पनि बढेको छ । अघिल्लो साता दैनिक औसतमा ३ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये गत साता सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४१ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ ।
गत साता नेप्सेमा ३८ करोड ६१ लाख ३५० कित्ता धितोपत्र सूचीकृत भएको छ । प्राइम बैंकको ऋणपत्र र युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।


















