काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतका लागि दैनिक उडान भर्ने भएको छ।
एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन उडान भर्न लागेको हो।
हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाजमा एक सय ७४ यात्रु अट्छन् ।
अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।
चाडपर्व नजिकिदै गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।
जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। वीज एयर, एयर अरेबिया पनि दशैं अघिदेखि नै भैरहवाबाट उडान सुरू गर्ने तयारीमा छन्।


















