बराहक्षेत्र । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको बराहक्षेत्र–९ राजावासस्थित श्री सरस्वती माविका शिक्षक पक्राउ परेका छन् ।
सरस्वती माविमा कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पैकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो ।
सामुदायिक विद्यालयमा अध्यापन गर्ने आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरुको संवेदनशील अङ्गमा हात लगाउने र अस्वभाविक कुराहरु गर्ने पीडित छात्रा तथा अभिभावकहरुको आरोप छ ।
शिक्षक पैकराले लामो समयदेखि छात्राहरुलाई गलत व्यवहार गर्दै आएको विषय शुक्रबार बाहिरिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई प्रधानाध्यापकले जानकारी गराएका थिए ।
विद्यालयका अध्यक्षले घटनालाई ढाकछोप गरेर आज आइतबार शिक्षक, अभिभावक र पीडित छात्राहरुलाई राखेर मिलाउने कोसिस गरे पनि आरोपित शिक्षक बिराटनगर गएको बताएका थिए ।
तर, अभिभावक, विद्यार्थी र स्थानीय लगायत सरोकारवालाहरुले शिक्षकलाई ल्याउनुपर्ने माग राखेपछि प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेको थियो । अभिभावक सहित पीडित विद्यार्थी र स्थानीयहरु प्रहरीमा जाहेरी दिन पुगेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















