इटहरी । पछिल्लो समय जथाभावी अभिव्यक्ति दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आलोचना हुन थालेको छ।

यसैबीच इन्जिनियर पेशाप्रति अपमानजनक टिप्पणी गरको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मेयर साम्पाङको राजीनामा मागेका छन्। सो क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साम्पाङको राजीनामा मागेको हो।
 
उक्त संगठनले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आफूबाहेक अरु कोही पनि सक्षम नरहेको भन्ने दम्भ राखेको बताएको छ। मेयर साम्पाङले एक अन्तर्वाताका क्रममा इन्जिनियर राजनीतिमा आउने नभई घर बनाउन जानुपर्ने टिप्पणी गरेका थिए। इन्जिनियरले नीति बनाउन नसक्ने हुँदा राजनीतिमा आउन नहुने उनको तर्क थियो। 

उनको उक्त अभिव्यक्तिपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले विरोध गरेका हुन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मेयर साम्पाङको अभिव्यक्तिको भर्त्सना गरेको छ। संगठनका अध्यक्ष आभाष अधिकारीले मेयर साम्पाङजस्तो गैरजिम्मेवार नेतृत्वले धरानको भविष्य अन्धकार हुने बताए।

मेयर साम्पाङले काठमाडौँका मेयर बालेन शाहलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए। यसअघि पनि उनले मेयर शाहमाथि विभिन्न व्यंग्यात्मक टिप्पणी गर्दै आएका थिए।