इटहरी । इटहरी उपमहानगरपालिका ५ पचरुखीस्थित पाथिभरा ट्रेडर्स एण्ड सप्लायर्स र जय पाथिभरा काष्ठ उद्योगमा आज (बिहीबार) दिउँसो आगलागि भएको छ । पाथिभरा ट्रेडर्स एण्ड सप्लायर्सबाट सल्केको आगोले काष्ठ उद्योग समेत जलेको हो ।
पाथिभरा ट्रेडर्समा सामान मर्मत सम्भारको कार्य हुँदै गर्दा विद्युतिय सर्ट भएर आगो लागेको हुन सक्ने पाथिभरा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक रिसभ कार्कीले बताए । आफू विशेष कामले बाहिर रहेको समयमा पसलमा आगलागि भएको उनले बताए । उनका अनुसार आगलागिबाट १५ देखि २० लाखसम्मको क्षति भएको छ ।
यता जय पाथिभरा काष्ठ उद्योगमा पनि आगलागिबाट करिब ६,७ लाख रुपैयाँ बराबरको क्षति भएको जय पाथिभरा काष्ठ उद्योगका सञ्चालक हरि भट्टराई बताउँछन् ।
आगलागि करिब २ घण्टामा नियन्त्रणमा लिइएको थियो । इटहरी उपमहानगरपालिकाको दुई वटा र दुहबीको एउटा दमकल, स्थानिय र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरेहेको जनाइएको छ ।


















