धरान । धरान उपमहानगरपालिकामा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने भएको छ।

कागतजात बिहिन उपमहानगरको अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सा पास सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
 
ईभीपिएस सफ्टवेयर प्रयोग गरि सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन्। यसपछि उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ।

पहिलो पटक डिजिटल घर नक्सा प्रमाणपत्र धरान ११ निवासी देवराज पोख्रेललाई वितरण गर्दै नगर उपप्रमुख अइन्द्र विक्रम बेघाले छिटो-छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको जानकारी दिए। 
 
यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिने जस्ता सम्पूर्ण काम अनलाइनबाटै हुने भएको छ। यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बहानाबाजीलाई निरूत्साहित गराउने उपमहानगरको विश्वास छ।