काठमाडौँ । घर जग्गाको कारोबार गर्न अब इजाजतपत्र लिनुपर्ने भएको छ। अहिलेसम्म घर जग्गाको कारोबार गराउँदा व्यक्तिले स्वस्फुर्त रुपमा गर्दै आए पनि अब इजाजतपत्र लिएर मात्र गर्न पाउने गरी सरकारले कानुनी व्यवस्था गर्न लागेको हो।

बोलिचालीको भाषामा व्यक्तिले स्वतन्त्र रुपमा ‘दलाली’ गर्दै आए पनि मालपोत ऐन २०३४ लाई संशोधन गरेर कानुनी दायरामा ल्याउन लागिएको हो।
 
घर जग्गाको कारोबार गर्दा शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद बिक्री गर्न सहयोग गर्ने, खरिद बिक्रीका परामर्श दिनका लागि लाइसेन्स अनिर्वाय गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रमै गरेको थियो।

त्यसलाई कार्यान्वनय गर्न मालपोत ऐन संशोधन गर्न लागिएको हो। इजाजतपत्रका लागि कम्पनी खडा गर्न भने प्रस्तावित विधेयकले बाध्य पारेको छैन।
 
कहाँबाट कसरी लाइसेन्स लिने भन्नेबारे विधेयकमा ठोस कुरा उल्लेख गरिएको छैन। पछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर इजाजतको लिने प्रक्रिया निर्धारण गर्ने विधेयकमा लेखिएको छ।
 
एकपटक लिएको इजाजतपत्र पाँच वर्षसम्म कायम हुनेछ। कसैले इजाजतपत्र नलिइ आफूखुशी ‘दलाली’ गरेमा दश लाखसम्म जरिवान हुनेछ।