विराटनगर । मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट एकैपटक १३ जना दुर्व्यसनी फरार भएका छन्। 

उर्लाबारी नगरपालिका–७ स्थित जीवन बचाउ उपचार सेवा गृहबाट शनिबार साँझ लागूऔषधका दुर्व्यसनी भागेका हुन्। सुधार केन्द्रमा रहेका ३२ मध्ये १३ जना साँझ ६ः४५ बजेतिर भागेको केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिए। 

तीन जना सुरक्षागार्डलाई धम्क्याउँदै एकैपटक ठूलो सङ्ख्यामा दुर्व्यसनी फरार भएका दाहालले बताए। उनका अनुसार केन्द्रको ताला फोडेर उनीहरू फरार बनेको हुन्।
 
भागेकाहरू सबै जना परिवारको सम्पर्कमा पुगेको र मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको पाइएको दाहालको भनाइ छ । प्रहरीसँग समन्वय गरेर फरार भएकाको खोजी जारी राखिएको उनले बताए। दुर्व्यसनी फरार भएको दृश्य सिसी टिभीमा कैद भएको र उक्त फुटेज प्रहरीलाई उपलब्ध गराइसकिएको उनले बताए। 

सुधार केन्द्रभित्र दिइने यातना सहन नसकेर उनीहरू फरार भएको हुनसक्ने आशङ्का आफन्त एवं परिवारका सदस्यले गरेका छन्।