इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी उपमहानगर भित्रका सार्वजनिक स्थलमा सुर्ति तथा मदिराजन्य वस्तुको बिक्रीवितरण गर्न नपाउने भएको छ ।  

इटहरी उपमहानगरको १ सय २२ औँ कार्यपालिका बैठकमा बुधबार नगरप्रमुख हेमकर्ण पौडेलले राखेको सार्वजनिकस्थलमा सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्री गर्न र सेवन गर्न प्रतिबन्ध गर्ने प्रस्ताव कार्यपालिका सदस्यले सर्वसम्मत पास गरेका हुन् । 

कार्यपालिकाबाट पास भएपछि कार्यविधि बन्ने र सोपश्चात् कडाइका साथ सुर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थको बिक्रीवितरणको अनुगमन गरिने नगरप्रमुखले बताएका छन् । 
 
स्कुल, कलेजको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ र मदिरा जन्य पदार्थको बिक्रीवितरण गर्न नपाउने संघीय कानून भएता पनि त्यसमा सार्वजनिकस्थल र बसपार्कसमेत थप गरेर इटहरी उपमहानगरले यो प्रस्ताव पारित गराएको हो । 

मदिरा बिक्रीवितरणमा कडाइ गर्न किराना पसलहरुलाई मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध गर्न अनुगमनलाई बढाइने नगरप्रमुख पौडेलले कार्यपालिकालाई जानकारी गराएका थिए । 
  
सुर्तिजन्य पदार्थमा गुट्खालाई समेत समेट्ने र बेच्नेलाई कडाभन्दा कडा कारबाही गर्न कार्यपालिका सदस्यहरुले माग गरेका थिए ।