सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ४ मा रहेको रामजानकी गुठी मन्दिरको दानपेटिकाबाट एक लाख २५ हजार रुपैयाँ चोरी भएको छ।
प्रहरीका अनुसार भक्तजनले मन्दिरका लागि दान गरेको रकम दानपेटिका नै फुटाएर चोरी गरिएको हो ।
चोरीमा संलग्न इनरुवा ४ का २३ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।
राईका अनुसार गत बुधबार राति मन्दिरको दुईवटा दानपेटिका फुटाएर यादवले रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रकम चोरी गरेपछि भारततिर भाग्न खोज्दै गर्दा यादवलाई इनरुवा ३ बाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिएका छन्।
उनका अनुसार चोरीमा संलग्नको पहिचान एवं पक्राउका लागि विशेष टोली परिचालन गरिएको थियो। चोरी गरेको नगदसहित यादव पक्राउ परेको एसपी ढकालले बताए।
प्रहरीले उनीविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका यादव लागुऔषधका दुर्व्यसनी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै इनरुवा क्षेत्रमा भएका चोरीका विभिन्न घटनामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ।


















