झापा । झापाका छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार अपराह्न याङबरक गाउँपालिका ६ पाँचथर घर भई बुद्धशान्ति २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका ३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए । घाइते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपश्चात थप उपचारका लागि बीएनसी अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो ।
 
यसैगरी हल्दीबारी गाउँपालिका ५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका ५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका मेचीनगर नगरपालिका ११ धाईजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।