काठमाडौं । सप्तरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ भन्सार चोकदेखि रामपुर मल्हनिया जाने बाटो छेउमा दक्षिणतर्फ कुनौली जाने दशगाजामा बुधबार बिहान साढे ६ बजे एक पुरुषको शव फेला परेको हो । 

नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ४०र४५ वर्षीय पहाडीमूलको जस्तो देखिने पुरुष व्यक्तिको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गर्दा प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटेर शवको जाँच मुचुल्का गरिएको र मृतकको हालसम्म सनाखत हुन नसकेको डिएसपी काफ्लेले बताए । 
 
मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।